रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ

काठमाडौं, ५ जेठ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उहाँकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेका हुन् ।

लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले बताउनुभयो । पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको छ । मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, सोमबार  १० : ३८  बजे