यरुशलेम, ३ जेठ । इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ । यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो ।
इजरायली सुरक्षाबलले ‘गिदेओनका रथ’ नामक नयाँ अभियान सुरु गरिएको जनाएको छ, जसको उद्देश्य युद्धका प्रमुख लक्ष्य बन्धकको मुक्तिमा सहयोग पुर्याउनु र हमास नामक समूहको सञ्जाल हटाउनु रहेको छ । ‘हामी आफ्ना नागरिकको सुरक्षाका लागि काम गरिरहनेछौँ र युद्धका लक्ष्य प्राप्त नहुँदासम्म हाम्रो कारबाही जारी रहनेछ,’ सुरक्षाबलको भनाइ छ ।
यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले केही दिनभित्र इजरायली सेनाहरू पूर्ण बलका साथ गाजामा प्रवेश गर्ने बताउनुभएका थिए । गाजाका स्वास्थ्य अधिकारीका अनुसार, शुक्रबार मात्र उत्तर गाजामा इजरायली बमबारीका कारण कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने २१६ जना घाइते भएका छन् ।
गत वर्ष असोजदेखि सुरु भएको द्वन्द्वमा हालसम्म ५३ हजार ११९ जना मारिएका छन् भने एक लाख२० हजार २१४ जना घाइते भएका छन् । हमासले इजरायलमाथि युद्धविरामका लागि भइरहेका पहलहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया