‘नीति तथा कार्यक्रम सकारात्मक’

काठमाडौं, २५ वैशाख । सांसद प्रभु हजाराले सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले स्वास्थ्य, शिक्षा, खेलकूद, कृषिका क्षेत्रमा विशेष कार्यक्रम समावेश गरेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजनाको शिघ्र निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै प्रदेश र स्थानीय सरकारको समन्वयमा विकास निर्माणको कामलाई गति दिने जस्ता विषय सकारात्मक र महत्वपूर्ण रहेको उहाँको कथन छ । सांसद दिनेशकुमार यादवले देशको भौतिक पूर्वाधार, सिँचाइ, कृषि, राष्ट्रिय गौरवका आयोजनालाई नीति तथा कार्यक्रमले केन्द्रमा राखेको भएपनि आगामी बजेटले त्यसलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न भने बाँकी रहेको बताउनुभयो ।

उहाँले सुनकोशी डाइभर्सन आयोजनालाई प्रभावकारी रुपमा तत्काल अगाडि बढाउन माग गर्नुभयो । तराई मधेशका जिल्लामा खानेपानीको समस्या हुन लागेको, ट्यूवेल सुक्न लागेकाले सिँचाइ सेवा विस्तार गरेर पानीको सहज व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनयोग्य र यर्थाथवादी रहेको बताउनुभयो । युवा स्वरोजगार कार्यक्रमलाई जोड दिएको, स्टार्टअप अवधारणालाई मूर्त रूपमा प्रस्तुत गरी नयाँ पन दिएको भन्दै उहाँले सबल कार्यान्वयनका लागि यथेष्ट बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद जावेदा खातुन जागाले नीति तथा कार्यक्रम सकारात्मक भएपनि केही विषयमा सुधार जरुरी रहेको धारणा राख्नुभयो । सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको संकल्प पूरा गर्नका लागि कार्यक्रमले मार्गदर्शन गरेको उल्लेख गर्नुभयो । उहाँले वन्यजन्तुको आत्रमणमा परेकालाई राहत दिने, बीमा गर्ने विषय कार्यक्रममा समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्दै कृषिमा आत्मनिर्भर बनाउने, युवालाई सहभागी गराउने विषय समयसापेक्ष रहेको बताउनुभयो ।

 

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार  १७ : ०५  बजे