जनकपुरधाम, २२ वैशाख । धर्मचक्रवर्ती तुलसी पीठाधीश्वर पद्विभूषण जगद्गुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्यजी महाराजले नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
जानकी नवमी अर्थात् सीता जयन्तीको पूर्वसन्ध्यामा आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाअर्चनापश्चात् पत्रकारसँग उहाँले हिन्दू धर्म तथा संस्कृतिको संरक्षणका लागि नेपाल–भारतलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वको बदलिँदो परिस्थितिमा धर्म परिर्वतन गराइरहेकाले यसमा सबै हिन्दू धर्मावलम्बी सचेत रहनुपर्ने बताउनुभयो । स्वामी रामभद्राचार्यजी महाराजले नेपाल तथा भारतबीचको परापूर्वकालदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि उहाँले महोत्तरीको जलेश्वरनाथ मन्दिर र लक्ष्मीनारायण मठमा पूजाअर्चना गर्नुभएको जानकी मन्दिरका सह—महन्थ रामरोशन दासले जानकारी दिनुभयो । सप्ताहव्यापी सीता जयन्ती मनाउने कार्यक्रमअन्तर्गत उहाँ आज यहाँ आउनुभएको हो ।
प्रतिक्रिया