भारतले पाकिस्तानबाट आयातमा पूर्ण प्रतिबन्ध लगायो

काठमाडौं, २१ बैशाख । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाइएको छ ।

यस सम्बन्धमा, वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ । सूचना अनुसार, यस सम्बन्धमा एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको छ । जसमा भनिएको छ,‘अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ ।’

अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए । यस आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध धेरै कदम चालेका छन् र दुई देशबीच तनाव कायमै छ ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार  १२ : ०८  बजे