बागमती प्रदेशमा इ–ब्लु बुकको थालनी, प्रधानमन्त्री ओलीद्धारा शुभारम्भ

काठमाडौं, १९ बैशाख । बागमती प्रदेशमा आजबाट अनलाइन सवारी धनी प्रमाणपत्र (इ–ब्लुबुक) को थालनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को अवसरमा पहिलो इ–ब्लु बुक जारी गरी कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

आजबाट शुरु भएको बागमती अनलाईन भिआएसमार्फत आफ्नो विवरण भरेर व्यक्तिगत र संस्थागत दुवै सवारी साधनले प्रकृया पूरा गरेर नागरिक एपमार्फत क्यूआर प्राप्त गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले मुलुक सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको र धेरै सेवा अनलाइनबाटै हुन थालेको बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार अब मुलुकले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीका अनुसार मुलुकको समृद्धिका लागि कुना-कुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ ।

सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट सचेत हुनुपर्छ । त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले छिट्टै २ वटा महानगरपालिकाबाट फाइब जी सेवा सुरु गर्ने बताउनुभयो । उहाँले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गराई छुट्टै बायोमेट्रिक्स लिन नपर्ने गरी बागमती प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (बागमती इडिएल) विकास गरेको बताउनुभयो ।

मन्त्री महर्जनका इ–ब्लु बुक प्राप्तिपश्चात् सवारी धनीले ब्लु बुक बोक्नु नपर्ने, मोवाइलमै सवारी परिचय देखाउन सकिने र कार्डको रुपमा प्रिन्टसमेत गर्न सकिनेछ ।

मन्त्री महर्जनका अुनसार लाइसेन्स परीक्षाको लिखित र ट्रायल चरणमा मात्रै कार्यालयमा भौतिकरुपमा उपस्थित हुनपर्ने र अन्य कार्य अनलाइनमार्फत् नै हुने गरी आवश्यक व्यवस्था गरिएकोले कार्यसम्पादनमा थप सरलता, प्रभावकारिता र सेवाग्राहीमा सन्तुष्टि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार  २३ : ०९  बजे